काठमाडौं - प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इजरायलमा केयर गिभरका रूपमा पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखा कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटी रहेका छन्।
प्रहरीका अनुसार नेपाल सरकार र इजरायल सरकारबीच भएको सरकार–सरकार (जीटुजी) सम्झौताअनुसार सन् २०२४ मा नेपाल सरकारले लिएको परीक्षामा सहभागी भई इजरायल जान लक्की ड्रमा नपरेका १५६ जनालाई उनीहरूले इजरायल पठाइदिने भन्दै विश्वासमा पारेका थिए।
प्रति व्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम लिई पीडितहरूबाट जम्मा २ करोड ५० लाख रुपैयाँ ठगी गरेको सम्बन्धमा पीडितहरूको जाहेरी प्राप्त भएको ब्युरोले जनाएको छ।
प्रहरीका अनुसार आरोपीहरूलाई २०८३ असोज १ गते पक्राउ गरिएको हो । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट कानुनबमोजिम म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

