उदयपुर - उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा श्रीमानले धारिलो हतियार सिकल प्रहार गर्दा श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया बिमला राई रहेकी छन्। प्रहरीका अनुसार उनका श्रीमान् अन्दाजी ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा बिमलाको गर्दनमा सिकल प्रहार गरेका थिए।
घटना २०८३ असोज ४ गते राति करिब १२ः३० बजे भएको हो। घटनापछि गन्दु राम आफैं अस्थायी प्रहरी पोस्ट माडिबास, उदयपुरमा पुगेर जानकारी गराएका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएको थियो।
घाइते बिमलालाई अस्थायी प्रहरी पोस्ट माडिबासबाट प्रहरी हवल्दारको कमान्डमा खटिएको दुई जनाको टोलीले तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार पुर्याएको थियो। उनको उपचारका क्रममा राति १ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

