Harsamaya
ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई गोली हानी पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सिरहा - ज्यान मार्ने उद्योग तथा सवारी ज्यान र सङ्गठित अपराधसम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।

सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्रबाट प्रहरीले भारत बिहारको मधुबनी जिल्लाका ३७ वर्षीय मोहम्मद कुरवान मन्सुरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०८१ पुस १९ गते बिहान नेपाल–भारत सीमाक्षेत्रमा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले डीएल ५ सीजे ७१७१ नम्बरको टाटा सफारी गाडी जाँच गर्न खोज्दा चालक प्रहरीमाथि ज्यान मार्ने उद्देश्यले ठक्कर दिई फरार भएका थिए।

उक्त घटनापछि फरार रहेका मुख्य प्रतिवादी मन्सुरीलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शनिबार बिहान ९ः१० बजे नियन्त्रणमा लिन खोजेको थियो।

प्रहरीका अनुसार मन्सुरीसहित तीन जना रहेको समूहले प्रहरीमाथि एक राउन्ड गोली प्रहार गरी भाग्न खोजेपछि प्रहरीले जवाफी कारबाहीमा तीन राउन्ड गोली चलाएको थियो। गोली लागेर मन्सुरीको बायाँ हातको कुहिना तथा दाहिने घुँडाको छेउमा चोट लागेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।

घाइते मन्सुरीलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update