ललितपुर - केन्द्रीय कारागार, सुन्धाराबाट प्रदर्शनका क्रममा फरार भएका लागूऔषध मुद्दाका कैदी ललितपुरको भैंसेपाटीबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्ला लमजुङ, बेँसीशहर नगरपालिका–३ का ४७ वर्षीय विक्रमबहादुर थापा रहेका छन्। उनलाई ललितपुर महानगरपालिका–२५ भैंसेपाटीबाट पक्राउ गरिएको हो।
थापा २०८२ भदौ २४ गतेको प्रदर्शनका क्रममा केन्द्रीय कारागार, सुन्धाराबाट फरार भएका थिए। उनलाई जिल्ला अदालत काठमाडौंले लागूऔषध मुद्दामा ३ वर्ष ६ महिना कैद, १ लाख ६० हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा ६ हजार ४ सय रुपैयाँ दाखिला गर्नुपर्ने फैसला गरेको थियो।
फैसलाअनुसार थापाले १ वर्ष ७ महिना कैद भुक्तान गरिसकेका छन् भने १ वर्ष ११ महिना कैद भुक्तान गर्न बाँकी रहेको छ।
यस्तै, जिल्ला अदालत चितवनबाट समेत उनलाई २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको प्रहरीले जनाएको छ। पक्राउ परेका थापामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

