काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात रहेको छ।
यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य सञ्चालनका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढी आएपछि सरकारले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका व्यक्ति, संस्था र निकायलाई सार्वजनिक आह्वान गरेको थियो।
सरकारको आह्वानपछि विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग रकम कोषमा जम्मा हुँदै आएको हो। कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात रहँदा बाढीपीडितको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा उक्त रकम कसरी र कति प्रभावकारी रूपमा परिचालन हुन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।

