Harsamaya
केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

भारी तथा धेरै भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी नदी तथा खोलानाला आसपास र पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  ०६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update