नुवाकोट - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नुवाकोटका विभिन्न उद्योग तथा फर्ममा अनुगमन गरी चारवटा फर्मलाई जनही २० हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागले आइतबार गरेको अनुगमनका क्रममा सुन्दरादेवी स्टोर, एस एण्ड पि खाद्य सप्लायर्स, कालिका माइ खाद्य सप्लायर्स र भिमसेन स्टोर्सलाई जनही २० हजार रुपैयाँ जरिवाना गरेको हो।
विभागका अनुसार शिवशक्ति सप्लायर्स, कार्की खाद्य सप्लायर्स तथा जय भिमसेन वाथ एण्ड सेनेटरी सप्लायर्सलाई भने सामान्य निर्देशन दिइएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमन तथा निरीक्षण गरी आवश्यक निर्देशन तथा कारबाही गरिएको विभागले जनाएको छ।
विभागले उपभोक्ताको हित संरक्षण तथा बजारमा गुणस्तरीय वस्तु तथा सेवा सुनिश्चित गर्न अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

