Harsamaya
होल्डिङ सेन्टर अवलोकनपछि स्वानको सुझाव:  तत्कालीन राहतसँगै पुनःस्थापना र पुनर्निर्माणमा जोड दिनुपर्छ 
होल्डिङ सेन्टर अवलोकन गर्दै स्वान नेपालका कर्मचारीहरू ।

काठमाडौं  - भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका परिवारलाई राहत उपलब्ध गराउँदै स्वान नेपालले अब तत्कालीन राहतसँगै पुनःस्थापना र पुनर्निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएको छ।

स्वानको टोलीले शनिबारमा विदुर नगरपालिका–९ का विभिन्न होल्डिङ सेन्टरमा पुगेर बाढी प्रभावितको अवस्था अवलोकन गरेको थियो। अवलोकनका क्रममा प्रभावित समुदायमा खाद्यान्न, कपडा तथा अन्य आधारभूत राहत सामग्री पुगिसकेको पाइएको स्वानका सञ्चार अधिकृत प्रेक्ष्या लामिछानेले जानकारी दिइन् । 

‘राहत सामग्री धेरै भइसकेको छ’, उनले भनिन् ‘अहिले परिवारका सदस्य होल्डिङ सेन्टरमा छुट्टाछुट्टै छन् अब तत्काल अस्थायी आवास निर्माण गरेर परिवार सँगै बस्ने वातावरणकालागि सरकारले पहल गर्नुपर्छ ।’ 

घरबारविहीन भएका परिवारलाई स्थायी आवास, क्षतिग्रस्त स्वास्थ्य संस्थाका लागि वैकल्पिक स्वास्थ्य सेवा तथा विस्थापित बालबालिकाका लागि सुरक्षित संरक्षण आवश्यक रहेको स्वानले जनाएको छ।

विशेषगरी अभिभावक गुमाएका बालबालिकालाई सुरक्षित पारिवारिक वातावरणमा राख्नुपर्ने तथा त्यसका लागि सरकार र सम्बन्धित निकायको कडा निगरानी आवश्यक रहेको संस्थाको भनाइ छ।

स्वानले प्रभावित नागरिकको आवाजलाई प्राथमिकतामा राख्दै अब राहतबाट पुनःस्थापना, जीविकोपार्जन, शिक्षा, स्वास्थ्य र सुरक्षित आवासतर्फ अघि बढ्नुपर्नेमा जोड दिएको छ।

संस्थाका अनुसार राहतले प्रभावितलाई तत्काल बाँच्न सहयोग गर्छ भने पुनःस्थापनाले उनीहरूलाई जीवन पुनर्निर्माण गर्ने आधार दिन्छ।

स्वानले बाढीग्रस्त क्षेत्रमा विद्यालय पुर्ननिर्माणको काम गर्ने योजना बनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  १६:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update