Harsamaya
भोटेकोसीको बाढीले कर्णालीका दुईको मृत्यु, १६८ अझै सम्पर्कविहीन

सुर्खेत - रसुवा लगायतका जिल्लामा आएको बाढी तथा पहिरोका कारण कर्णाली प्रदेशका अझै १६८ जना सम्पर्कविहीन रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश प्रहरी प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार बाढी पहिरोपछि कर्णालीका विभिन्न जिल्लाबाट २४८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएकोमा हालसम्म ७८ जना सम्पर्कमा आएका छन्। सम्पर्कविहीनमध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सल्यानको बागचौर नगरपालिका–१० पिपल नेटाका २० वर्षीय आयुष खड्काको मृत्यु भएको छ। यस्तै, हुम्लाको ताजा कोट गाउँपालिका–२ का नहकुल शर्माको पनि बाढीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। शर्मा रसुवा भन्सार कार्यालयका अधिकृत रहेको बताइएको छ।

जुम्लाका सबैभन्दा धेरै सम्पर्कविहीन
प्रहरीको विवरणअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका ६३ जना छन्। त्यसपछि सल्यानका ५१ जना सम्पर्कविहीन रहेको विवरण छ।

त्यस्तै, सुर्खेतका १५, दैलेखका पाँच, जाजरकोटका दुई, रुकुम पश्चिमका सात, कालिकोटका छ, मुगुका ११, डोल्पाका दुई र हुम्लाका छ जना अझै सम्पर्कमा नआएको प्रवक्ता राठौरले जानकारी दिए।

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा १४३ जना पुरुष, २६ जना महिला र चार जना बालिका रहेका छन्।

उद्धार र खोजी कार्य जारी
रसुवा लगायतका जिल्लामा आएको बाढी तथा पहिरोमा परी सम्पर्कविहीन भएका कर्णालीवासीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले समन्वय गरिरहेको प्रहरीले जनाएको छ।

विशेष गरी वैदेशिक रोजगारी, व्यापार तथा सरकारी सेवाका सिलसिलामा रसुवा लगायतका क्षेत्रमा पुगेका कर्णालीवासी प्रभावित भएको प्रहरीको विवरणले देखाएको छ। कर्णालीका जुम्ला, सल्यान, सुर्खेत, मुगु, दैलेख र हुम्लाबाट धेरै व्यक्ति सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  ०७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update