Harsamaya
रसुवामा ३ हजार बढी सम्पर्कविहीन, १ हजार ३१३ जनाको जीवितै उद्धार
सांकेतिक तस्वीर: हर समय/Har Samaya

रसुवा - नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। ल्हेन्दे खोलामार्फत आएको बाढीपछि जिल्लामा हालसम्म १ हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने ३ हजार ७१ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार उद्धार गरिएकामध्ये १ हजार २२७ नेपाली र ८६ विदेशी पर्यटक रहेका छन्। सुरक्षाकर्मी तथा स्थानीयवासीको सक्रियतामा बाढी र पहिरोमा फसेकाहरूको उद्धार गरिएको हो।

बाढीका कारण अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री तथा स्थानीयवासीलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौं सुरक्षित स्थानान्तरण गरिएको छ। सडक सञ्जाल विच्छेद भएका तथा दुर्गम क्षेत्रमा राहत र उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ।

सुरक्षाकर्मी र सरकारी कर्मचारीसमेत सम्पर्कविहीन
विपद्पछि रसुवामा ठूलो सङ्ख्यामा मानिस सम्पर्कविहीन भएका छन्। श्रीनाथ गण तथा ब्राबल ब्यारेकअन्तर्गतका २७ नेपाली सेना, २८ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी अझै सम्पर्कमा आएका छैनन्।

त्यस्तै ७९ सरकारी कर्मचारी तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी पनि सम्पर्कविहीन छन्। जिल्लाका १ हजार ३७०, अन्य जिल्लाका १ हजार २६२ तथा २६६ विदेशी पर्यटक सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।

१६३ शव फेला, सनाखत प्रक्रिया जारी
बाढीपहिरोका क्रममा विभिन्न स्थानमा १६३ शव फेला परेका छन्। तीमध्ये पाँच जनाको सनाखत भइसकेको छ। सनाखत भएका शवमध्ये उत्तरगया–५ का जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङ रहेका छन्।

सनाखत हुन बाँकी शवको पहिचानका लागि मुचुल्का उठाउने तथा डीएनए परीक्षणको प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।

१ हजार ५०० घर क्षतिग्रस्त
बाढीपहिरोले जिल्लाको भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार १ हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

यस्तै, २८ सरकारी तथा सार्वजनिक निकाय, आठ सामुदायिक विद्यालय, तीन निजी विद्यालय र १४ बैंकका भवनमा क्षति पुगेको छ।

४१ किलोमिटर सडक ठप्प
बाढीले जिल्लाको मुख्य यातायात सञ्जालमा समेत ठूलो क्षति पुर्‍याएको छ। जिल्लाको मेरुदण्ड मानिने ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड ठप्प भएको छ।

बाढीले छ पक्की मोटरेबल पुल, आठ ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० झोलुङ्गे पुल बगाएको वा क्षति पुर्‍याएको छ। जिल्लाका आठ जलविद्युत् आयोजनामा समेत ठूलो क्षति भएको छ।

७ हजारभन्दा बढी नागरिक विस्थापित
बाढीपहिरोका कारण थातथलोबाट विस्थापित भएका ७ हजार ३३ नागरिकलाई १२ वटा सुरक्षित आश्रयस्थलमा राखिएको छ। धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालय, गणेश आधारभूत विद्यालयलगायत स्थानमा आश्रित नागरिकका लागि गाँसबासको व्यवस्था मिलाइएको छ।

प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिएको छ।

विपद्का बीच पनि जिल्लाको ८३ प्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ। नेपाल टेलिकमको सञ्चार सेवा पनि सम्पूर्ण क्षेत्रमा सञ्चालनमा ल्याइएपछि उद्धार, राहत तथा समन्वय कार्यमा सहज भएको प्रशासनले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  ०६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update