Harsamaya
रसुवा बाढी : ११३१ शव फेला, करिब ५ हजार सम्पर्कविहीन, १३ हजारको उद्धार

काठमाडौं - रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार १३१ जनाको शव फेला परेको छ भने करिब ५ हजार नागरिक अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहत कार्यलाई तिव्रस्तरमा अघि बढाइएको जनाएको छ ।

आज माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको ४ नम्बर अडिट टनेलबाट एक जना चिनियाँ नागरिक तथा नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीबाट ६४ वर्षीया महिलाको जीवितै सकुशल उद्धार गरिएको छ । प्राधिकरणका अनुसार फेला परेका १ हजार १३१ शवमध्ये हालसम्म १८ जनाको मात्र सनाखत भई परिवारलाई बुझाइएको छ । फेला परेका शवहरूमा विभिन्न स्थानमा भेटिएका मानव अङ्गहरूसमेत समावेश छन् । 

बाढीले बगाएर ल्याएका शवहरू विभिन्न आठ जिल्लामा फेला परेका छन् । जसअनुसार नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २१९, नुवाकोटमा १९५, चितवनमा १६०, रसुवामा १५६, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ वटा शव फेला परेका हुन् । 

सम्पर्कविहीन हुनेहरूमा नुवाकोट जिल्ला प्रशासनबाट प्राप्त विवरणअनुसार करिब २ हजार ३४० जना, रसुवाबाट १ हजार ९६७ जना, विदेशी नागरिक ५८९ जना तथा सुरक्षाकर्मी र कर्मचारी करिब १०० जना रहेका छन् । सम्पर्कविहीनको यो सूचीमा पहिचान नभएका शवहरू तथा उद्धार गरिएका कतिपय व्यक्तिहरूको नामसमेत दोहोरिएको हुनसक्ने भएकाले प्राधिकरणले हाल नामावली रुजु गर्ने कार्य भइरहेको स्पष्ट पारेको छ ।

प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार १०१ जनाको सकुशल उद्धार गरिएको छ । जसमा सशस्त्र प्रहरी बलबाट ४ हजार ८७१, नेपाली सेनाबाट ४ हजार १६२ (हवाई उद्धारमार्फत २७५ विदेशी र ३,६८७ नेपाली तथा स्थलगत २००) र नेपाल प्रहरीबाट ४ हजार ६८ जनाको उद्धार भएको छ । उद्धार गरिएकाहरूमा ३०४ जना विदेशी नागरिकसमेत छन् । उद्धारका लागि नेपाली सेनाले हालसम्म १७३ पटक र निजी क्षेत्रका हेलिकप्टरमार्फत १२१ पटक हवाई उडान गरिएको छ ।

बाढीमा परी घाइते भएका ५ हजार १२९ जनाको उपचार गरिएको छ, जसमा नेपाली सेनाबाट ३ हजार २९७, सशस्त्र प्रहरीबाट १ हजार ५१६ र विभिन्न अस्पतालहरूमा ३१६ जनाको उपचार भएको छ । रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका ४१ वटा होल्डिङ सेन्टरमा हाल ३ हजार ९८२ जना आश्रित छन् ।

फिल्डमा खोज तथा उद्धारका लागि नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले तत्कालका लागि रसुवा र नुवाकोटलाई १÷१ करोड, धादिङलाई ५० लाख र अति प्रभावित १५ वटा पालिकालाई गरी कुल १३ करोड ५० लाख रुपैयाँ नगद राहत निकासा गरेको छ । 

काठमाडौंबाट ८३ वटा ट्रक, ३८ वटा बोलेरो र हेलिकप्टरका ९ वटा उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । यस्तै सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १७३ हवाई उडान गरी राहत सामग्री ढुवानी गरेको छ । प्रभावित क्षेत्रमा हाल ५७ हजार लिटर डिजेल, २० हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  १९:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update