काठमाडौं - आज शनिबार देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली तथा पहाडी भू–भागका केही तथा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा समेत मध्यम वर्षा हुनसक्नेछ।
राति सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ।

