काठमाडौं - त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका दुई जनाको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार बिहान सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साह र कवीर महर्जनको छाउनी अस्पतालमा उपचार भइरहेको हो।
कवीर महर्जनकी सासुआमा नीलकुमारी महर्जनले सुरुङभित्र रहेका उनी जीवितै उद्धार हुने आशा लामो समयसम्म रहे पनि आठ–नौ दिनपछि आशा कमजोर हुँदै गएको बताइन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भनिन्, ‘सुरुङ भनेको ठूलो हुन्छ नि, आफ्नो ज्यान जोगाउन भित्र–भित्र पस्दै गयो भने उहाँहरू सकुशल हुनुहुन्छ भन्ने आशा त थियो। तर आठ–नौ दिन भइसकेपछि बिस्तारै आशा पनि मर्दै गएको थियो।’
तर बुधबार बिहान कवीर सकुशल उद्धार भएको खबर पाएपछि परिवारमा खुसी छाएको उनले बताइन्।
उनले भनिन्, ‘उहाँको सकुशल उद्धार भन्ने खबर पाएपछि धेरै खुसी भयौँ। उहाँको पुनर्जन्म नै भएको हो। धर्ती माताको गर्भबाट पुनर्जन्म भएको भन्नुपर्छ ।’
कवीरको उद्धारमा खटिएको नेपाली सेनालाई धन्यवाद दिँदै उनले सुरुङभित्र अझै रहेका अन्य व्यक्तिहरूको पनि सकुशल उद्धारको कामना गरिन्।
‘उद्धार गर्ने नेपाली सेनालाई सबै पीडितको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छौँ। भित्र रहेका अरू थुप्रैको पनि सकुशल उद्धार होस्,’ उनले भनिन्।
कवीरको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको उनले जानकारी दिइन्। लामो समय सुरुङभित्र बस्नुपरेका कारण खान नपाएको, तनाव र चिन्ताका कारण केही कमजोरी भए पनि अवस्था गम्भीर नरहेको उनको भनाइ छ।
उनले भनिन्, ‘खासै गम्भीर छैन। निकै दिनभित्र पसेको, खान नपाएको र चिन्ता–पीरका कारण सामान्यजस्तो त हुँदैन। तर गम्भीर नै भन्न मिल्दैन। अहिले खतरा छैन, खतराबाट मुक्त नै हुनुहुन्छ।’
कवीर जीवितै उद्धार भएको खबर परिवारले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पाएको उनले बताइन्।
उनले कृष्ण जन्माष्टमीको दिन कवीरको उद्धार हुनुलाई आफूहरूले भगवानको कृपाका रूपमा लिएको समेत बताइन्।

