Harsamaya
‘सुरुङबाट एक जनाको शव निकालियो’ 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

रसुवा - नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक व्यक्तिको शव निकालेको छ ।
 
खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहेका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए । 

उनका अनुसार सोही जलविद्युत् आयोजनाका दुई कर्मचारीको आज बिहान जीवितै अवस्थामा उद्धार गरेपछि उत्साहित बनेको उक्त विशेष टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित चिनियाँ र अमेरिकी विज्ञसमेत खटिरहेको देखिन्छ । 

यसैबीच नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सेना र सशस्त्र प्रहरीसम्मिलित टोली विद्युत आयोजनाको सुरुङभित्र उद्धार कार्यमा खटिरहेको बताउनुभयो । सो टोलीमा नेपाली सेनाका ७५ र सशस्त्र प्रहरी बलका १८ जना परिचालित छन् ।  
  
आज रसुवा बाढीप्रभावित क्षेत्रमा बादल लागि मौसम सफा नभए पनि हेलिकप्टरमार्फत खाद्यान्नलगायत अत्यावश्यक सामग्री वितरण काम तीव्रताका साथ भइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update