काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका दुई जनामध्ये कबीर महर्जनको अवस्था जटिल रहेको छ भने सञ्जय साहको अवस्था सामान्य रहेको छ।
दोस्रो पटक उद्धार गरिएका महर्जनलाई उद्धारलगत्तै काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको छ।
सुरुमा उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य र स्थिर रहेको छ। थप स्वास्थ्य परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइँदै छ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा प्राविधिक विज्ञ सम्मिलित संयुक्त टोलीले आज बिहान सुरुङभित्र फसेका दुवै जनाको जीवितै उद्धार गरेको हो।
आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकापछि बाढी आएको दिनदेखि नै लगातार खोज तथा उद्धार प्रयास भइरहेको थियो।

