Harsamaya
दिवङ्गत प्रहरीका परिवारलाई १० लाख, ऋण मिनाहा

काठमाडौं - भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले तत्काल १० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले दिवङ्गत प्रहरीका परिवारलाई विशेष आर्थिक सहयोगस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको हो।

बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । 

बाढीपछि सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजीका लागि सम्बन्धित परिवारसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय पनि भएको छ। भदौ १० गतेको भोटेकोशी बाढीपछि २५ प्रहरी अझै सम्पर्कविहीन छन्।

यस्तै, दिवङ्गत प्रहरी कर्मचारीले कल्याण कोषबाट लिएको विशेष सापटी ऋणसमेत मिनाहा गरिने भएको छ। उनीहरूका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम दिने निर्णय पनि गरिएको छ।

दिवङ्गत प्रहरीका सन्ततिलाई पायक पर्ने नेपाल प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म तथा नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णय भएको छ।

यसैगरी, बाढी प्रभावित क्षेत्रमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोष्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीको व्यक्तिगत सामग्रीमा भएको क्षतिबापत जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ०६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update