नुवाकोट - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भौतिक संरचना पूर्ण रूपमा ध्वस्त बनाएको छ। तर बाढी आउँदा शिक्षकहरूले देखाएको असाधारण साहसका कारण विद्यालयमा रहेका सयौँ विद्यार्थीको ज्यान जोगिएको विद्यालयले जनाएको छ।
भदौ १० गते बिहान बाढी विद्यालयतर्फ प्रवेश गर्न थालेपछि करिब २० मिनेटअघि मात्र विद्यालयका कुल १ हजार ६४३ विद्यार्थीमध्ये कक्षा ८ देखि १२ सम्मका ९०० भन्दा बढी विद्यार्थी कक्षाकोठामा अध्ययनरत थिए। अन्य विद्यार्थी विद्यालय बस तथा पैदल विद्यालय परिसरमा प्रवेश गर्दै थिए।
बाढीको भेल अत्यन्त छोटो समयमा विद्यालय परिसरमा पसेपछि शिक्षक तथा कर्मचारीले आफ्नो ज्यानको समेत पर्वाह नगरी विद्यार्थीलाई सुरक्षित स्थानतर्फ पुर्याएका थिए। विद्यालयले विद्यार्थीलाई सकुशल सुरक्षित स्थानमा पुर्याउन खटिने शिक्षक तथा कर्मचारीप्रति उच्च सम्मान व्यक्त गरेको छ।
विद्यालयका अनुसार विपद्मा परी शिक्षक सन्तोष परियार, कार्यालय सहयोगी छुल्टिम लामा तथा कक्षा ११ मा अध्ययनरत विद्यार्थी अविनाश नेपाली हालसम्म सम्पर्कविहीन छन्। विद्यालयले उनीहरूको सकुशल उद्धारको कामना गरेको छ।
७६ वर्षको इतिहास बोकेको विद्यालयको सम्पूर्ण भौतिक संरचना बाढीको लेदोमा पुरिएर पूर्ण रूपमा बगरमा परिणत भएको छ। विद्यालयका दुईवटा बससहित भौतिक तथा शैक्षिक सामग्रीमा ठूलो क्षति पुगेको जनाइएको छ।
विद्यालयले विपद्पछि विद्यार्थी तथा शिक्षकमा परेको मानसिक पीडालाई ध्यानमा राख्दै तत्काल पठनपाठन सुचारु गर्नुभन्दा विद्यार्थी र शिक्षकको मनोसामाजिक सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेको छ।
विद्यालयले भौतिक संरचना ध्वस्त भए पनि शिक्षकको साहस र शैक्षिक संकल्पलाई बाढीले कमजोर बनाउन नसकेको भन्दै शून्यबाटै पुनःनिर्माण गरी विद्यालयलाई अझ सुरक्षित, व्यवस्थित र आधुनिक बनाउने प्रतिबद्धता जनाएको छ।

