काठमाडौं - नेपाली काँग्रेसकी सचेतक बासना थापाले सरकारले विपद् व्यवस्थापनमा प्रयास गरिरहेको भए पनि त्यसको प्रत्यक्ष अनुभूति प्रभावित नागरिकले मैदानमा गर्न नसकेको बताएकी छन् ।
उनले एउटै छानो र एउटै कोठाभित्र २४ जना नागरिकको ज्यान जाने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै अब उद्धारमा एक सेकेन्ड पनि ढिला गर्न नहुने बताएकी हुन् ।
प्राकृतिक विपत्तिका बेला दिनरात नभनी आवश्यक सबै स्रोतसाधन परिचालन गरी नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ छ। उद्धार टोली तथा राहत पुग्ने प्रक्रियामा हुने सामान्य ढिलाइले समेत ठूलो क्षति निम्त्याउन सक्ने भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताएकी छिन् ।
थापाले अहिले दोषारोपणभन्दा एकीकृत प्रयास र बलियो समन्वय आवश्यक रहेको बताउँदै राज्यका सबै संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गर्न आग्रह गरेकी छिन् । स्थानीय तथा प्रदेश सरकारसँग प्रभावकारी समन्वय गर्दै सबै तह मिलेर काम गरे मात्र उद्धार तथा राहत प्रभावकारी हुने उनको भनाइ छ।
उनले नागरिकको पीडामा मलम लगाउनु र उनीहरूलाई सुरक्षित राख्नु अहिलेको मुख्य दायित्व भएकाले सरकारका प्रयासलाई अझ तीव्र बनाएर ‘राज्य साथमै छ’ भन्ने अनुभूति जनतालाई दिलाउनुपर्ने बताएकी छिन् ।

