काठमाडौं - आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा वर्षाको सम्भावना छ।
रातिको समयमा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाका कारण पहिरो, बाढी तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

