Harsamaya
मृतकको संख्या ४८९ पुग्यो, दुई हजार ३८१ अझै सम्पर्कविहीन
शव संकलन गर्नै नेपाली सेना ।

काठमाडौं - रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४८९ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार दिउँसो १२ बजेसम्म विभिन्न जिल्लाबाट ४८९ जनाको शव फेला परेको हो।

रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३७, गोरखामा ४४, चितवनमा १८६, नवलपरासी पूर्वमा ११२ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ५४५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना छन्।

बाढीमा घाइते भएका ८७ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन छन्। नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बाढीमा परी सर्वसाधारणसहित दुई हजार ३८१ जना अझै सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update