गोरखा - भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि त्रिशूली नदीको गोरखातर्फको किनारमा ३९ शव फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार गण्डकी गाउँपालिकाका विभिन्न स्थानमा त्रिशूली नदीको बगरबाट ती शव फेला परेका हुन्।
फेला परेका शवमध्ये ११ वटा सग्ला छन् भने बाँकी शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ। सग्ला ११ शवलाई थप पहिचानका लागि पोखरा पठाइएको छ भने क्षतिग्रस्त शव गोरखा अस्पतालको शवगृहमा राखिएको छ।
गण्डकी गाउँपालिका–८ धवादीघाट, वडा नं. ६ भुम्लिचोक, वडा नं. १ बुट्टार, वडा नं. ४ ठेउवाटार र वडा नं. ७ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारबाट शव फेला परेका हुन्।
नदी किनारका अन्य क्षेत्रमा समेत बेपत्ताको खोजी तथा शवको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


