काठमाडौं - नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी नेपालतर्फ गएको भूकम्पबाट हिमपहिरो र त्यसपछि पहिरो खस्दा उत्पन्न भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन् ।
एनटीभी वर्ल्डसँगको कुराकानीमा राजदूत झाङले घटनाप्रति चीन गहिरो दुःखित रहेको जनाउँदै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे । उनले कठिन परिस्थितिमा चीन नेपालसँगै रहेको बताउँदै आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
राजदूत झाङका अनुसार भूकम्पपछि हिमपहिरो र त्यसबाट आएको पहिरोका कारण नेपाल–चीन सीमा क्षेत्रको केरुङ–रसुवागढी दुवैतर्फ ठूलो क्षति, मानवीय हताहती र मानिस बेपत्ता भएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा खोजीलाई उच्च प्राथमिकता दिँदै जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्न, घाइतेको तत्काल उपचार गर्न तथा थप क्षति रोक्न निर्देशन दिएको उनले बताए ।
चीनले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपालसँग समन्वय गरिरहेको र आपत्कालीन सामग्री तथा नगद सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएको राजदूतले जानकारी दिए ।
भविष्यमा यस्ता विपद् न्यूनीकरणका लागि नेपाल र चीनबीच मौसम, जलविज्ञान तथा भौगर्भिक विपद्सम्बन्धी सूचना आदानप्रदान, पूर्वसूचना प्रणाली सुदृढीकरण, संयुक्त उद्धार संयन्त्र तथा प्राविधिक र जनशक्ति क्षमता विकासमा सहकार्य थप बढाउनुपर्ने उनको भनाइ छ।


