काठमाडौं - भोटेकोशी बाढीका कारण प्रभावित अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण गरेको छ।
प्रतिकूल मौसमका कारण हिजो दुई पटक अवतरण हुन नसके पनि आज हेलिकप्टर अवतरण गरेपछि आयोजनाको वास्तविक अवस्था र क्षतिको स्थलगत मूल्याङ्कन सुरु गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमा उद्धार, स्थलगत निरीक्षण तथा विद्युत् पुनर्स्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली फिल्डमा खटिएको छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनर्स्थापना भइरहेको छ। खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सेवा सुचारु भइसकेको छ।
नुवाकोटका अन्य प्रभावित क्षेत्रमा समेत ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति सञ्चालन गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। त्यसका लागि चपली–देवीघाट र बालाजु–त्रिशूली ६६ केभी लाइनमा प्राविधिक टोली परिचालन गरिएको छ।
प्राधिकरणले प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना गर्न आवश्यक सबै प्राविधिक उपाय अपनाएर काम गरिरहेको जनाएको छ।


