Harsamaya
 बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेरअघि सम्पन्न बैठकले प्रभावित क्षेत्रबाट घाइतेलाई उद्धार गरी प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा लैजाने निर्णय गरेको छ।

गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौं ल्याउने तयारी गरिएको छ। घाइतेको अवस्थाअनुसार प्राथमिकता निर्धारण गरी उद्धार तथा उपचार अघि बढाइने प्राधिकरणले जनाएको छ।

यसैगरी, बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ।

प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, स्वास्थ्य टोली र स्रोतसाधन परिचालन गर्ने तयारीसमेत गरिएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update