Harsamaya
रसुवा बाढी : त्रिशूली र नारायणीमा १८ शव भेटिए
रसुवा बाढी ।

चितवन - तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएका छन्। कुरिनटारदेखि नारायणगढको लीलाचोकसम्म विभिन्न स्थानमा ती शव भेटिएका हुन्।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ बजेसम्म १८ शव र १२ वटा हातखुट्टा भेटिएका छन्। सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउँदै शव तथा मानव अंग निकाल्ने काम गरिरहेको छ।

बाढीको बहावसँगै शवहरू बगेर आएको बताइएको छ। देवघाटस्थित नारायणी नदीको जलसतह ६.८० मिटर पुगेपछि घट्न थालेको नारायणी बेसिन फिल्ड कार्यालयले जनाएको छ। यहाँ ९ मिटर पुगेपछि खतरा तह मानिन्छ।

प्रशासनले नागरिकलाई नदीमा सामान खोज्न वा तान्न नजान तथा नदीमा शव देखे तत्काल सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ।

बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएको छ। नदी आसपासका विद्यालयसमेत बन्द गरिएका छन् भने सुरक्षा निकायले नदी तटीय क्षेत्रमा माइकिङमार्फत सचेत गराइरहेको छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update