विराटनगर - नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
शनिबार प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले एमाले अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्संरचना र पुनर्गठनको प्रक्रियामा रहेको बताए।
पार्टी नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टीकाटिप्पणी वा बाहिरी छलफलबाट नहुने उल्लेख गर्दै उनले अध्यक्ष ओलीलाई हटाउने विषयमा आफूहरूको कुनै धारणा नरहेको बताए। एमालेको महाधिवेशन कहिले गर्ने भन्ने निर्णय गर्ने अधिकार पार्टीको केन्द्रीय कमिटीसँग मात्र रहेको उनको भनाइ छ।
पार्टीमा रूपान्तरण आवश्यक रहेको स्वीकार गर्दै पोखरेलले जनतासँगको सम्बन्ध पुनः जोड्न तथा कार्यकर्ताको मनोबल बढाउन पार्टीभित्र छलफल भइरहेको बताए। यसका लागि कार्यदल गठन गरिएको जानकारी पनि उनले दिए।
महासचिव पोखरेलले लोकतन्त्र र संविधानको रक्षाका लागि संसद्भित्र तथा बाहिर रहेका संविधान निर्माता दलहरूसँग सहकार्यको प्रयास भइरहेको बताए।
प्रधानमन्त्रीको स्वेच्छाचारी र अधिनायकवादी कार्यशैलीलाई रोक्दै लोकतन्त्रलाई सही मार्गमा ल्याउन राष्ट्रपतिसँग समेत संवाद गरिने उनले बताए। प्रधानमन्त्रीले संसदीय लोकतन्त्रका आधारभूत स्तम्भहरूको उपेक्षा गरेको र संसद्प्रति उत्तरदायी नबनेको आरोप पनि पोखरेलले लगाए।

