Harsamaya
आजको मौसमः  केही प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले अधिकांश भूभागमा बदलीसँगै वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थान तथा मधेशसहित कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ । तराईका धेरै स्थानमा समेत मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाले कोशी र बागमतीका पहाडी तथा हिमाली भूभाग र कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम रहेको जनाएको छ ।

भारी वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचना हेर्न महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update