काठमाडौं - सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक अनुदान मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए
बैठकले शिक्षण सहयोग अनुदान कोटामा कार्यरत माध्यमिक तहका शिक्षकको तलब माध्यमिक तृतीय श्रेणी तथा आधारभूत तहका शिक्षकको तलब निम्न माध्यमिक तृतीय श्रेणीसरह कायम गर्ने निर्णयसमेत गरेको छ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले सहसचिव कमलप्रसाद भट्टराईलाई सचिवमा बढुवा गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।
यस्तै, संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने, नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने तथा भुक्तानी तथा फछ्र्यौट ऐन र नागरिक लगानी कोष ऐन संशोधनसम्बन्धी विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ।

