Harsamaya
 सिद्धार्थ राजमार्ग अवरुद्ध
सांकेतिक तस्वीर: हर समय/Har Samaya

पाल्पा - पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेश बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

प्रहरीका अनुसार माथिबाट निरन्तर पहिरो खसिरहेको छ। सडक अवरुद्ध भएपछि प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको छ।

पहिरो रोकिएपछि जेसीबी प्रयोग गरी सडक खुलाउने तयारी गरिएको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी दोभानबाट करिब एक किलोमिटर दक्षिणतर्फ पर्छ।

पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल सडक खुलाउन जोखिम रहेको र यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update