काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया रोक्ने अधिकार कसैलाई नरहेको स्पष्ट पारेका छन् ।
सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठक समापन गर्दै सभापति थापाले पार्टीभित्र राजनीतिक असहमति राख्न सबैलाई अधिकार भए पनि महाधिवेशन रोक्ने छुट कसैलाई नभएको बताए ।
उनले नेतृत्व वा कुनै व्यक्तिको अनुहार मन नपरे महाधिवेशनमै आएर लोकतान्त्रिक प्रक्रियाबाट पराजित गर्न चुनौती दिए । विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व, निर्वाचन आयोगको अध्यावधिक विवरण र अदालतको डिभिजन बेन्चको फैसला कानुनसम्मत रहेको उनको दाबी छ।
थापाले पार्टीभित्रको घरझगडा र आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा पुराना तथा नयाँ नेताहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले असोज १६ गते कांग्रेसको १५औँ महाधिवेशन कुनै पनि किन्तु–परन्तु बिना सम्पन्न हुने दाबी गर्दै मंगलबारदेखि वडा तहबाटै अधिवेशनको प्रक्रिया विधिवत् सुरु हुने जानकारी दिए ।
सभापति थापाले महाधिवेशन सफल बनाउन निवर्तमान सभापतिको भूमिका महत्वपूर्ण हुने बताउँदै पार्टीभित्र ‘विशेष’ र ‘नविशेष’ भनेर भागबण्डा गर्न नहुने धारणा राखे । पार्टीका भेला तथा बैठकहरू आन्तरिक विषय भएकाले त्यसलाई अन्यथा लिन नहुने उनको भनाइ थियो।

