काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ।
सोमबार पार्टी कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले क्यान्डिडेट क्लबको शुभारम्भ गरेका हुन्। आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने उद्देश्यले क्लबको अवधारणा ल्याइएको उनले बताए।
स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले अनलाइनमार्फत क्यान्डिडेट क्लबमा आवेदन दिन सक्ने र त्यसमार्फत योग्य, इमान्दार तथा सक्षम उम्मेदवार छनोट गरिने लामिछानेले बताए।
उनका अनुसार नेपाली राजनीतिमा योग्यता प्रणाली स्थापित गर्न र सक्षम नेतृत्व उत्पादन गर्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अवधारणा अघि सारिएको हो।
उम्मेदवार बन्न चाहने व्यक्तिको कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक पृष्ठभूमि परीक्षण गरेर योग्य व्यक्तिलाई मात्र अघि बढाउने व्यवस्था गरिएको लामिछानेले बताए।
लोकप्रिय वा चर्चित भएर मात्र चुनाव जित्नु पर्याप्त नहुने भन्दै उनले उम्मेदवारलाई सम्बन्धित तहको काम, कर्तव्य, अधिकार र कानुनबारे प्रशिक्षण समेत दिइने जानकारी दिए।
लामिछानेले नयाँ पार्टीका रूपमा रास्वपामाथि आएका गुनासा र प्रतिक्रियालाई आत्मसात गर्दै पार्टी र मुलुकलाई सही दिशामा अघि बढाउने तथा नागरिकको विश्वास खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे।

