जाजरकोट - जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा टहरा भत्काउँदा ७ जना घाइते भएका छन् भने दुई जना सम्पर्कविहीन भएका छन्।
पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको कच्ची घर तथा भेरी–३ कै भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पूर्ण रूपमा क्षति भएका छन्।
घाइतेमध्ये रामबहादुर शाही र भद्राकली कार्कीको अवस्था गम्भीर रहेको छ। शाहीलाई जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज र कार्कीलाई सुर्खेत रिफर गरिएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा ६० वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५७ वर्षीया भद्राकली कार्की, ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक, ४७ वर्षीया मोतीकला विक र ५२ वर्षीय केदार कार्की रहेका छ ।
पहिरोपछि भाग्ने क्रममा भेरी–२ फारुलाकी ५४ वर्षीया उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की सम्पर्कविहीन भएका छन्।
घटनास्थल जाने बाटोसमेत पहिरोले अवरुद्ध भएकाले सुरक्षाकर्मीको टोली पैदलै घटनास्थलतर्फ गएको छ। प्रहरी टोलीले घाइतेको उद्धार, थप क्षतिको विवरण संकलन तथा बेपत्ताको खोजी कार्य गरिरहेको जनाएको छ।

