काठमाडौं - खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न आइतबार नेपाल आयल निगमले काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ ।
निगमका अनुसार बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने व्यवस्था गरिएको हो ।
निगमले सार्वजनिक गरेको सूचनाअनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीराम र सगर ग्यास बिक्री गरिनेछ । पशु सेवा शाखा, चपली–बुढानीलकण्ठबाट नेपाल, एचपी र भानु ग्यास तथा राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास बिक्री हुनेछ ।
त्यस्तै नयाँ बजार जुडे हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास, तारकेश्वर नगरपालिकाको परिसरबाट नेपाल र एचपी ग्यास तथा चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास बिक्री गरिने निगमले जनाएको छ । राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र क्त्ऋ ग्यास बिक्री हुनेछन् ।
निगमले नियमित रूपमा एलपी ग्यास आयात भइरहेको र सोहीअनुसार बिक्री वितरण गर्न उद्योगीहरूलाई आफ्ना विक्रेतामार्फत नियमित व्यवस्था मिलाउन अनुरोध गरेको छ । पछिल्लो समय निगमले बजारमा ग्यासको आपूर्ति बढाए पनि केही व्यवसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात राखिएको पाइएको जनाएको छ ।
निगमले ग्यास आवश्यक पर्ने उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित तोकिएका बिक्री केन्द्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भई ग्यास खरिद गर्न अनुरोध गरेको छ ।
हाल १४.२ किलोग्रामको भरिएको एलपी ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ कायम छ ।

