Harsamaya
रोल्पामा पहिरोमा पुरिएर १० जनाको मृत्यु, ३ जना अझै बेपत्ता
रोल्पा पहिरोमा परेकाको उद्धार गर्दै नेपाली सेना।

रोल्पा - रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा १० जनाको मृत्यु भएको छ। पहिरोमा परी घाइते भएका दुई जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ भने तीन जना अझै बेपत्ता छन्।

मृत्यु हुनेमा थबाङ–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।

पहिरोमा परी मृत्यु भएकामध्ये पाँच जनाको शव प्युठानमा फेला परेको प्रहरीले जनाएको छ। उनीहरूमा ७ वर्षीय अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु पुन (जुनकुमारी पुन मगर) र ८० वर्षीय बलबहादुर पुन मगर रहेका छन्।

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बुटवल पठाइएको छ।

त्यस्तै, ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ७२ वर्षीय लिलबहादुर पुन मगर पहिरोमा बेपत्ता भएका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  ०७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update