Harsamaya
पहिरो र बाढीले देशका विभिन्न राजमार्ग अवरुद्ध
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - पहिरो तथा बाढीका कारण देशका विभिन्न स्थानमा मुख्य तथा सहायक राजमार्ग अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार सिन्धुपाल्चोकको अरनिको राजमार्गका तीन स्थान, रुकुमपूर्वको मध्यपहाडी लोकमार्ग, रसुवाको त्रिशूली मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड, धादिङको पृथ्वी राजमार्गलगायत सडक पूर्ण रूपमा अवरुद्ध छन्।

त्यस्तै, भोजपुरको मध्यपहाडी लोकमार्ग र बागलुङको कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छन्। इलामको मेची राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

कर्णालीतर्फ रुकुम पश्चिमको जाजरकोट–डोल्पा सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथमा समेत जोखिम रहेकाले सवारी सञ्चालनमा रोक तथा नियन्त्रण गरिएको छ। प्रहरीले सडकको अवस्था हेरेर मात्र यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update