Harsamaya
रोल्पामा पहिरोले घर–गोठ पुरिँदा दुईको मृत्यु, दुई गम्भीर घाइते
रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबाराको पहिरो ।


रोल्पा - अविरल वर्षापछि गएको पहिरोले घरसहित गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। घाइते हुनेमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन्। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घर तथा गोठ पुरिएका थिए। घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा पठाएको थियो।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार पहिरोबाट करिब छ घर तथा गोठमा क्षति पुगेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update