काठमाडौँ - आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित सवारी निर्माता डोङफेङका विद्युतीय बस नेपालमा भित्र्याएको छ । कम्पनीले सिटी ईभी र लङ रेन्ज ईभी मोडल सार्वजनिक गरेको हो । सिटी ईभी बसले एकपटक पूर्ण चार्जमा २४० किलोमिटर र लङ रेन्ज ईभीले ३५० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जिङमार्फत करिब ४५ मिनेटमा २० देखि ५० प्रतिशतसम्म चार्ज गर्न सकिने जनाइएको छ । हाल २५ र ३० सिट क्षमताका बस उपलब्ध छन् भने ४० र ५२ सिट क्षमताका विद्युतीय बस पनि छिट्टै नेपाल ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । नेपालमा डोङफेङका विद्युतीय बस सार्वजनिक यातायात तथा व्यावसायिक प्रयोजनका लागि लक्षित छन् । यो विद्युतीय बस ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा राखिएको छ । यो विद्युतीय बसका बारेमा थप जान्न हामीले आयाम इन्टरकन्टिनेन्टलका निर्देशक सुभाष शर्मासम्म कुराकानी गरेका छौं ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ राखिएको चिनियाँ विद्युतीय बसहरुले नेपालको साझा बससँग प्रतिष्पर्धा गर्न सक्छ ? यो कस्तो फिचरको बस हो ?
अहिले हामी कसैसँग प्रतिस्पर्धा गर्नेभन्दा पनि आफ्नै हिसाबले बजारको मागअनुसार अघि बढिरहेका छौँ । पछिल्लो समय विद्युतीय सवारीसाधनको माग बढ्दै गएकाले हामीले यसअघि साना माइक्रो बस ल्याएका थियौँ । अहिले बजारमा ठूला विद्युतीय बसको माग बढ्न थालेपछि त्यसतर्फ विस्तार गर्ने योजनाअनुसार नयाँ बस सार्वजनिक गरेका हौँ । अहिले २६ र २८ सिटर क्षमताका ७.२ मिटर लम्बाइका विद्युतीय बस ल्याएका छौँ । यसको बजार राम्रो हुँदै गएमा आगामी दिनमा ९ मिटर र १२ मिटरका बस पनि ल्याउने योजना छ । सरकारले पनि ठूलो क्षमताका विद्युतीय बसलाई प्रोत्साहन गरिरहेको अवस्थामा हामी मास कम्युनिकेसन र मास ट्रान्सपोर्टेसनमा केन्द्रित हुनुपर्छ भन्ने सोचका साथ अघि बढिरहेका छौँ । त्यसैअनुसार आगामी चरणमा ५२ सिट क्षमतासम्मका विद्युतीय बस ल्याउने योजना छ ।
यो बसहरुको लागत मूल्य कति छ ? नेपालमा कसलाई टार्गेट गर्नुभएको छ ? लोकल बसको लागि हो कि बिजनेस पर्पसको लागि हो ?
बस एउटै सेग्मेन्टमा मात्र सीमित हुँदैन । हामीसँग लक्जरी सिटसहितका बसहरू छन्, जसलाई पर्यटन क्षेत्रलाई लक्षित गरिएको छ भने स्थानीय यात्राका लागि सिटी बसहरू उपलब्ध छन् । हाम्रो बजारमा साना तथा ठूला क्षमताका विभिन्न सेग्मेन्टका बसहरू छन् । कुनै ग्राहकले सिटी–टु–सिटी सेवा सञ्चालन गर्न चाहनुहुन्छ भने त्यसका लागि छुट्टै विकल्प छ भने सहरभित्र सञ्चालन गर्नेहरूका लागि पनि उपयुक्त बस उपलब्ध छन् । बसको गुणस्तर, क्षमता, सञ्चालन हुने दूरी र प्रयोजनका आधारमा ग्राहकलाई आवश्यकताअनुसार उपयुक्त विकल्पबारे हामी सुझाव दिने गर्छौँ ।
आजभोली स्कुलहरुमा बस राख्ने प्रचलन बढेको छ, धेरैले स्कुल बसको लागि खोजिरहनुभएको छ, यो बस त्यसको लागि उपयुक्त हुन्छ ?
हामीले अहिले तीनवटा सेग्मेन्टमा बस लन्च गरिरहेका छौँ । एउटा लक्जरी, अर्को सिटी र तेस्रो स्कुल बस । अहिले हामीले स्कुल बस ल्याएका छैनौँ, तर हाम्रो उत्पादनमा यी तीनवटै सेग्मेन्टका तीन वटा भेरियन्ट छन् । स्कुल बस पनि छिट्टै नेपालमा ल्याउने योजना रहेको छ ।
बसमा प्रयोग हुने ब्याट्रीको बारेमा भनिदिनुन्।
बसमा १०३ किलोवाट आवर (kWh) क्षमताको ब्याट्री जडान गरिएको छ । यसले एकपटक पूर्ण चार्जमा करिब २५० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्छ । बसमा २२० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ । ग्राहकको आवश्यकता र प्रयोगअनुसार ब्याट्री तथा रेञ्जलाई केही हदसम्म अनुकूलन गर्न सकिने सुविधा पनि रहेको छ । उदाहरणका लागि, कुनै ग्राहकलाई २५० किलोमिटरभन्दा बढी, जस्तै ३५० किलोमिटर रेञ्ज आवश्यक परेमा सोहीअनुसार बसलाई अनुकूलन गरेर उपलब्ध गराउन सकिनेछ ।
यसमा ग्राहकको आवश्यकताअनुसार विभिन्न पक्षमा कस्टमाइज गर्ने सुविधा पनि छ । सिटको डिजाइन तथा क्षमतादेखि ढोकाको सङ्ख्यासम्म ग्राहकको मागअनुसार परिवर्तन गर्न सकिन्छ । कसैलाई एउटा मात्र ढोका पर्याप्त हुन्छ भने सोहीअनुसार तयार गर्न सकिन्छ भने एसी आवश्यक परेमा एसीसहितको विकल्प पनि उपलब्ध गराउन सकिन्छ । अहिले सार्वजनिक गरिएको बस लन्चिङका लागि डेमोका रूपमा ल्याइएको हो । त्यसैले आगामी दिनमा ग्राहकको माग, आवश्यकता र प्रयोगअनुसार बसलाई थप लचिलो ढङ्गले कस्टमाइज गरेर उपलब्ध गराउन सकिनेछ ।
यो ब्याट्रीहरु चार्ज गर्ने चार्जिङ स्टेसन हुन्छ नि? के छ तपाईँहरुको ?
अहिले हामीले यो बस जस्ट लन्च गरेका हौँ । यसमा ठूलो क्षमताको ब्याट्री भएकाले फास्ट चार्जिङ आवश्यक पर्छ, एसी चार्जरले मात्र पर्याप्त हुँदैन । अहिले बजारमा फास्ट चार्जिङका लागि आवश्यक चार्जिङ सिस्टमहरू पनि उपलब्ध छन् । हाम्रो मुख्य फोकस भनेको कमर्सियल सेग्मेन्टमा जाने हो । कमर्सियल रूपमा सञ्चालन गर्दा स्टेसन–टु–स्टेसन सेवा हुने भएकाले सम्बन्धित स्टेसनमा चार्जिङलगायत आवश्यक पूर्वाधार कसरी व्यवस्थापन गर्ने र ग्राहकलाई कसरी सहयोग गर्ने भन्ने विषयमा हामीले आवश्यकताअनुसार वर्कआउट गरेर सहकार्य गर्नेछौँ ।
थप बसको बारेमा केही छ ?
डोङफेङ साना प्यासेन्जर सेग्मेन्टमा स्थापित र प्रतिष्ठित ब्रान्ड हो । कम्पनीले सेमी–कमर्सियल सेग्मेन्ट हुँदै माइक्रोबसमा समेत आफ्नो उपस्थिति विस्तार गरिसकेको छ । अब बजारको माग र आवश्यकतालाई ध्यानमा राख्दै हामीले डोङफेङका बसहरू पनि नेपालमा ल्याएका हौँ । डोङफेङ चीनको प्रतिष्ठित तथा उत्कृष्ट उत्पादन क्षमता भएको विश्वप्रसिद्ध कम्पनी भएकाले त्यसलाई केन्द्रमा राखेर हामीले यो उत्पादन नेपालमा भित्र्याएका हौँ । पछिल्लो समय सार्वजनिक यातायातमा यात्रु क्षमताको माग पनि क्रमशः बढ्दै गएको छ । हिजोसम्म ११ सिटका सवारीसाधन बढी चल्ने गरेकोमा त्यसपछि १४ र १६ सिटका सवारीसाधनको माग बढेको छ । आगामी दिनमा पनि यात्रु तथा बजारको माग बढ्दै जाने भएकाले त्यही बढ्दो बजारलाई लक्षित गर्दै ठूलो क्षमताका बसको सेग्मेन्टमा प्रवेश गरेका हौँ ।

