Harsamaya
कोशी सरकारबाट कांग्रेसका ४ मन्त्री र एक राज्यमन्त्रीको सामूहिक राजीनामा
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।

विराटनगर - कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवारले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएसँगै कांग्रेस औपचारिक रूपमा प्रदेश सरकारबाट बाहिरिएको हो।

राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री सुनुवारसहित पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इसराइल मन्सुरी र राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वा रहेका छन्।

राजीनामापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सुनुवारले लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भएकाले कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको बताए । 

यसअघि एमाले र नेकपाबीच प्रदेश सरकार गठनका विषयमा तीनबुँदे सहमति भएपछि कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको थियो। समर्थन फिर्ता लिए पनि कांग्रेसका मन्त्रीहरू बुधबारसम्म सरकारमा सहभागी थिए। सामूहिक राजीनामासँगै कांग्रेस औपचारिक रूपमा सरकारबाट बाहिरिएको हो।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update