काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारलाई विकासका कामका लागि समय दिनुपर्ने भए पनि भ्रष्टाचारका ठूला काण्डमा अनुसन्धान र कानुनी कारबाही सुरु गर्न समयको बहाना बनाउन नहुने बताएका छन्।
उनले सरकार गठन भएको चार महिनामै चमत्कार गरेर देश बदल्नुपर्ने अपेक्षा व्यावहारिक नभएको बताए। ‘३५ वर्षमा हुन नसकेको विकास चार महिनामै गर भनेर अपेक्षा गर्नु पनि व्यावहारिक हुँदैन,’ शाहीको भनाइ छ।
तर भ्रष्टाचारका ठूला काण्डमा संलग्न भनिएका मुख्य व्यक्तिमाथि अनुसन्धान र कानुनी कारबाही सुरु गर्न भने वर्षौं कुर्न नपर्ने उनले बताए।
शाहीका अनुसार देशमा रहेका ६५ वटा ठूला भ्रष्टाचारका काण्डका मुख्य नायकमध्ये अहिलेसम्म प्रभावशाली रूपमा कारबाहीमा परेको कोही देखिएको छैन। पक्राउ परेकामध्ये गृहमन्त्रीका व्यापारिक साझेदार भनिएका दीपक भट्ट मात्रै रहेको उनले उल्लेख गरे।
‘विकासका लागि समय लिनुस्, तर भ्रष्टाचारको अनुसन्धान गर्न समयको बहाना नबनाउनुस्,’ शाहीले भने।

