पर्सा - वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जना पक्राउ परेका छन्।
प्रहरीले सोमबार साँझ प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकेर खानतलासी गर्दा चार जनाको साथबाट उक्त रकम बरामद गरेको हो।
पक्राउ पर्नेमा भारत बिहार सीतामढी डुमरा–६ का २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्राफ तथा पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।
प्रहरीका अनुसार सुरजको साथबाट १ लाख, उपेन्द्रबाट १८ लाख १६ हजार, सागरकुमारबाट १८ लाख ३४ हजार र राहुलकुमारबाट १६ लाख रुपैयाँ बरामद भएको छ।
बरामद रकममा १ हजार दरका ४ हजार ५ थान, ५ सय दरका २ हजार ३ सय ५३ थान, १ सय दरका ६ सय ४३ थान र ५० दरका ८४ थान नोट रहेका छन्।
नगदसहित पक्राउ परेका चारै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

