काठमाडौं - बाढी, पहिरो तथा सडक कटानका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ भने भोजपुरको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।
बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खुकुट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा बाढीको सम्भावनाका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्तिलोकपथअन्तर्गत हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा सडक पूर्णरूपमा अवरुद्ध छन्। त्यस्तै रसुवाको त्रिशूली मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड, रुकुम पश्चिमको भेरी करिडोर, बाजुराको कर्णाली करिडोर तथा लमजुङको मध्यपहाडी लोकमार्गका केही खण्डमा पनि आवागमन प्रभावित भएको छ।
प्रहरीले सडकको अवस्था हेरेर यात्रा गर्न तथा सम्बन्धित सडकखण्डमा सावधानी अपनाउन आग्रह गरेको छ।

