काठमाडौं - नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरुले पार्टीलाई एकढिक्का गर्न आफूहरुले प्रयास गरिरहेको बताएका छन् ।
कांग्रेस सिन्धु–काठमाडौं सम्पर्क समितिले सोमबार काठमाडौंमा आयोजना गरेको युवा भेलामा उनीहरुले पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउने प्रयास गरिरहेको जनाएका हुन् ।
कार्यक्रममा कांग्रेस नेता डा शशांक कोइरालाले विरोधी वा अन्य नेताहरूलाई गाली–गलौज गर्नुको साटो मौन रहनु वा उपेक्षा गर्नु नै ठूलो जवाफ भएको धारणा राखे । पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउनु नै मुख्य प्राथमिकता रहेको भन्दै उहाले सबैको हातमा हात मिलाएर अघि बढ्न सहयोगको खाँचो रहेको बताए । उनले संघर्षपूर्ण इतिहास बोकेको कांग्रेस पनि झन् निखारिँदै जाने र देशको भविष्य कांग्रेसमै सुरक्षित रहने उल्लेख गरे ।
कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीलाई समग्र रूपमा मिलाउनका लागि १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई एउटै ठाउँमा राख्नुपर्ने बताए । तीन दिने राष्ट्रिय भेला कुनै व्यक्तिगत पदका लागि नभई पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आयोजना गरिएको उनले बताए ।
त्यस्तै कांग्रेसका अर्का नेता कृष्ण सिटौलाले सर्वोच्च अदालतले पार्टी एकताको बाटो खोलिदिएकाले संयमित, धैर्य र उत्साहवर्धक ढङ्गले देशभर पुगेर आफ्ना कुराहरू राख्ने बताए । उनले कांग्रेसका नेता तथा कार्यकर्ताहरू व्यक्तिगत स्वार्थका लागि नभई देश र राष्ट्रको सेवा गर्ने भावनाले सङ्गठित भएको उल्लेख गर्नुभयो । विशेष महाधिवेशनबाट आएको नेतृत्वले अधिनायकवादी शैली अपनाएको उहाले आरोप लगाए ।
त्यस्तै कांग्रेस नेता मोहन बस्नेतले कांग्रेसलाई फुटाउन नभई थप बलियो, जाँगरिलो, ठूलो र सशक्त बनाउन तथा मुलुकको भविष्य हाक्न सक्ने हैसियतको पार्टी निर्माण गर्न अभियान चलाइएको उल्लेख गरे ।

