काठमाडौं - बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।
सिन्धुपाल्चोकमा पहिरोका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारिकोल (तातोपानी जाने बाटो), भोटेकोशी–२ कोदारी, भोटेकोशी–२ लिपिङ र चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा सडक अवरुद्ध रहेको छ।
त्यस्तै, काभ्रेपलाञ्चोकमा रोशी गाउँपालिका–९ पिन्थली, नाकेसहितका स्थानमा पहिरोका कारण बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ। खुकुर्ट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा भने सम्भावित बाढीको जोखिमका कारण राति ८ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको प्रहरीले जनाएको छ।
मकवानपुरमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण हेटौँडा–भीमफेदी–बागमती–ललितपुर सडकखण्डमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरकै भोटेकोशी गाउँपालिका–४ चारिकोलमा पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध छ।
भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ। इलाम नगरपालिका–९ राजदुवालीमा अबिरल वर्षाका कारण मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको छ।
गण्डकी प्रदेशको बागलुङमा जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ भने लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध छ।
कर्णाली प्रदेशको रुकुम पश्चिममा आठबीसकोट नगरपालिका–६ रिजिगाड खोलामा बाढी आएपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली मेलुङ स्याफ्रुबेँसी सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध रहेको छ। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।

