Harsamaya
पक्राउबाट बच्न चार तहको सुरक्षा, घरमै सञ्चालन गर्दै थिए लागुऔषध कारोबार
बरामद गरिएको खैरो हिरोइन् ।

ललितपुर - लागुऔषध मुद्दामा कैद भुक्तान गरी छुटेका एक व्यक्ति फेरि लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट ११० ग्राम ३५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।

लागुऔषध मुद्दामा पक्राउ परी कारागारबाट छुटेपछि पुनः कारोबारमा संलग्न हुन सक्ने व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले साउन २३ गते ललितपुर महानगरपालिका–१ कुपण्डोलबाट २९ वर्षीय प्रज्वल केसीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार केसीको साथबाट खैरो हेरोइनसहित लागुऔषध तौलने डिजिटल तराजु एक थान र फरक–फरक सिम प्रयोग गरिएका पाँच थान मोबाइल बरामद गरिएको छ।

अनुसन्धानका क्रममा केसीले लागुऔषध कारोबार गर्दा पक्राउबाट बच्न तथा खरिदकर्ताको पहिचान सुरक्षित राख्न कुपण्डोलस्थित घरमा विशेष सुरक्षा व्यवस्था गरेको पाइएको प्रहरीले जनाएको छ।

उनले घरमा चार वटा सीसीटीभी क्यामेरा, दुई वटा कुकुर र कारोबार हुने बेडरुमसम्म पुग्न तीन वटा फलामे गेट राखेको पाइएको छ। यसरी घरको प्रवेशद्वारदेखि कारोबार हुने स्थानसम्म निगरानीको व्यवस्था गरी लागुऔषध कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद लागुऔषध, मोबाइल तथा अन्य सामग्रीमाथि थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेका केसीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update