Harsamaya
१० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दमकबाट तीन जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

झापा - झापाको दमक बजारबाट १० ग्राम ५२० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–९ प्रधानटोलका युनिक श्रेष्ठ, काठमाडौं महानगरपालिका–१० का २५ वर्षीय सहिल केसी र दमक नगरपालिका–५ गुराँसटोलकी अन्दाजी ४९ वर्षीया गीतादेवी राय रहेका छन्।

प्रहरीका अनुसार सोमबार राति करिब ९ः३० बजे दमक नगरपालिका–९ प्रधानटोलस्थित युनिक श्रेष्ठको घरकोठामा खानतलासी गर्दा सहिल केसीको साथबाट खैरो हेरोइनजस्तो पदार्थ फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा केसीले उक्त लागूऔषध दमक नगरपालिका–५ गुराँसटोलकी गीतादेवी रायबाट खरिद गरी ल्याएको बताएपछि प्रहरीले रायको डेरा कोठामा समेत खानतलासी गरेको थियो। सो क्रममा थप खैरो हेरोइनजस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै स्थानबाट बरामद लागूऔषधको कुल तौल १० ग्राम ५२० मिलिग्राम रहेको छ।

पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषधसहित इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update