काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधानबारे आफू पूर्ण जानकार रहेको भन्दै कसैको डर वा धम्कीले आफ्नो बाटो नफेर्ने बताएका छन् ।
आइतबार केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशबारे बोल्दै थापाले कांग्रेस डराउनुपर्ने कुनै कारण नरहेको बताए ।
थापाले विशेष महाधिवेशन विधानसम्मत भएको र निर्वाचन आयोगले पनि त्यसलाई सदर गरिसकेको उल्लेख गर्दे पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सहज रूपमा लिँदै त्यसको सामना गर्ने स्पष्ट पारे ।
सभापति थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन गर्न तयार रहेको तर, अर्को पक्षले तर्साएको भरमा आफू नतर्सिने समेत प्रष्ट पारे । उनले विशेष महाधिवेशनमा सहभागी नभएका कांग्रेसका नेता तथा कार्यकर्तालाई समेत नेतृत्वको पक्षमा उभिन आग्रह गर्दै पार्टीभित्र कसैलाई पहिलो वा दोस्रो दर्जाको व्यवहार नगर्ने बताए ।
सभापति थापाले कांग्रेसको आन्तरिक विवाद अब राजनीतिक मात्र नभई न्यायिक र कानुनी लडाइँका रूपमा समेत अघि बढ्ने संकेत गरे । सभापति थापाले अहिलेको अवस्थामा नेपालको राजनीति कता जान्छ भन्ने विषयमा आम नागरिकमा आजपनि उस्तै अन्यौलता रहेको टिप्पणी गरे ।
सभापति थापाले नागरिकहरुमा बढ्दै गएको असन्तुष्टिलाइ नजरअन्दाज गर्दा दलहरुले भदौ २३ र २४ को सामना गर्नुपरेको बताउदै पार्टी र सरकारको कार्यशैलीप्रति असन्तुष्टि छ भनेर जानकारी दिँदा तत्कालीन नेतृत्वले नसुन्दा अहिलेको यो अवस्था आएको उल्लेख गरे ।
उनले नेपालमा पटक पटक एउटा राजनितिक दलले मौका पाएपनि दलहरुको असक्षमताका कारण पाएको मौकालाइ ठिक ढंगले प्रयोग गर्न नसक्दा नागरिकहरुमा तिब्र आक्रोस फैलिएको र त्यो आक्रोस एउटा दलमा मात्र नभइ सिंगो प्रणाीमा पोखिएको धारणा व्यक्त गरे ।
सभापति थापाले आज फेरि नागरिक हतास भइरहेको बेला कांग्रेस चुप लागेर नबस्ने बताए । सभापति थापाले सरकाप्रति टिप्पणी गर्दै सरकार लाइ विधि मिचेर हिड्ने छुट नभएको बताए । उनले कार्यापालिका न्यापालिका र संसद माथिपनि हावी हुन खोजेको भन्दै खबरदारी गरे ।

