Harsamaya
देशका कुन कुन सडक बन्द छन् ?
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।

नेपाल प्रहरीले शनिबार अपराह्न ३:३० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्ड पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध रहेको जनाएको छ।

सबैभन्दा बढी समस्या सिन्धुपाल्चोकको अरनिको राजमार्गमा देखिएको छ। भोटेकोशी गाउँपालिका–४ चारकिलो (तातोपानी जाने बाटो), भोटेकोशी गाउँपालिका–२ कोदारी र भोटेकोशी गाउँपालिका–२ लिपिङ क्षेत्रमा पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।

यस्तै रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ।

अन्य सडकको अवस्था
काठमाडौँको नागार्जुन नगरपालिका–८ ठूलो खोलामा सितापाइला–धार्के सडकखण्ड एकतर्फी सञ्चालनमा छ। भोजपुरको भोजपुर नगरपालिका–५ बोखिममा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ। वैकल्पिक बाटोसमेत प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

इलामको इलाम नगरपालिका–९ राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। वैकल्पिक बाटोबाट यातायात सञ्चालन भइरहेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडेमा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।

काभ्रेको खानीखोला–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण राति ६ बजेदेखि बिहान ८ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थितिको अवस्था हेरेर सवारी सञ्चालन गर्न सकिने जनाइएको छ।

मकवानपुरको हेटौँडा–भिमफेदी–बागमती–ललितपुर सडकखण्डअन्तर्गत कान्ति लोकपथमा पनि सम्भावित बाढी तथा पहिरोका कारण राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

रुपन्देहीको पाल्पामा तानसेन नगरपालिका–४ गोडेपुल क्षेत्रमा सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा छ। गण्डकी प्रदेशको बागलुङस्थित जैमिनी नगरपालिका–४ बेलबगरमा कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहेको छ।

त्यसैगरी लमजुङको मध्यनेपाल नगरपालिका–१० बिसौरेभञ्ज्याङमा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगाड खोलामा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।

सुदूरपश्चिमको डडेल्धुरामा अमरगढी नगरपालिका–७ भालुमारे क्षेत्रमा भीमदत्त राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षा भइरहेकाले पहिरो तथा बाढीको जोखिम भएका सडकमा यात्रा गर्दा सावधानी अपनाउन तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update