काठमाडौं - आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रमा केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभाग तथा बागमतीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

