Harsamaya
तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
कोदारी राजमार्गमा गएको पहिरो ।

काठमाडौं - नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वारका रूपमा रहेको तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदा नेपाल र चीनबीचको आयात–निर्यात प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि नाकाबाट हुने नियमित व्यापारिक गतिविधि ठप्पप्रायः बनेको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार सीमावर्ती क्षेत्रमा विभिन्न ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा नेपाल–चीन व्यापारमा प्रत्यक्ष असर परेको हो।

उनका अनुसार सडक सञ्चालनमा नआउँदा चीनबाट मालसामान बोकेर आउने कन्टेनरसमेत नेपाल प्रवेश गर्न सकेका छैनन्। नाका हुँदै हुने दैनिक व्यापारिक आवागमन रोकिएपछि आयातकर्तादेखि व्यवसायीसम्म प्रभावित भएका छन्।

‘नाकामा सडक अवरुद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्,’ प्रमुख भन्सार अधिकृत गिरीले भने, ‘सडक कहिलेदेखि सञ्चालन हुने अहिलेसम्म कुनै टुङ्गो लागेको छैन।’

तातोपानी नाका अवरुद्ध हुँदा चीनबाट नेपाल भित्रिने विभिन्न व्यापारिक सामग्रीको आपूर्ति प्रभावित भएको छ। त्यस्तै, नेपालबाट चीनतर्फ हुने निर्यातसमेत प्रभावित भएको छ।

लामो समयसम्म सडक अवरुद्ध रहँदा नाकामा निर्भर व्यवसायी तथा ढुवानी व्यवसायमा समेत असर पर्ने अवस्था देखिएको छ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update