Harsamaya
देउवा परिवारमाथिको अनुसन्धान जारी, साउन २६ मा नेपाल फर्किने तयारी
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा ।

काठमाडौं - नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अझै जारी रहेको जनाएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले देउवा परिवारमाथिको अनुसन्धान टुंगो नलागेको र प्रक्रिया जारी रहेको जानकारी दिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि देउवा दम्पतीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गराएको थियो। त्यसविरुद्ध देउवा परिवार सर्वोच्च अदालत पुगेपछि अदालतले पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने प्रक्रिया पनि अघि बढाएको थियो। तर, आवश्यक कागजी प्रक्रिया नमिलेको भन्दै इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेको थियो।

हाल हङकङमा रहेका शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने तयारीमा छन्। उनीसँगै आरजु राणा पनि फर्किने वा नफर्किने विषय भने टुंगो लागिसकेको छैन।

यसैबीच, नेपाली कांग्रेसको असन्तुष्ट पक्षले काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update